काठमाडौँ :- सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारी अघि बढाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँगको छलफलमा यससम्बन्धी विज्ञापन छिट्टै प्रकाशित हुने संकेत दिएका छन्।
मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यस विषयमा सहमति गरिसकेको बताइएको छ। बालेन नेतृत्वमा सरकार बनेपछि पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्न लागिएको हो।
यसअघि २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ ल्याउँदै कम्तीमा ५० प्रतिशत परराष्ट्र सेवाबाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्ति गर्ने व्यवस्था गरेको थियो। तर खुला प्रतिस्पर्धाको अभ्यास भने भएको थिएन।
हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन्। साथै, आगामी जुलाई अन्त्यसम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिँदैछ, जसपछि कुल २४ पदमा एकैपटक नियुक्ति गर्ने अवसर सरकारलाई प्राप्त हुनेछ।




