काठमाडौँ :- आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था गरिएको हो।
पहिले वैशाख २ गतेदेखि सत्र शुरू हुने भए पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने प्रवृत्ति रोक्न र इन्धन आपूर्तिको असहज अवस्थालाई ध्यानमा राख्दै मिति सारिएको थियो। तर केही स्थानीय तहको सहजीकरणमा वैशाख १५ अगावै भर्ना भइसकेको पाइएको छ।
सरकारले चैत २२ गते निजी विद्यालयहरूले कानुनविपरीत असुलेका भर्ना तथा अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएको थियो। साथै, शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ विपरीत लिइएका शुल्क फिर्ता गराउन स्थानीय तहलाई कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
यसैबीच, सर्वोच्च अदालतले परीक्षा नतिजा प्रकाशित नभएसम्म र आवश्यक प्रमाणपत्र उपलब्ध नभएसम्म भर्ना सूचना ननिकाल्न अन्तरिम आदेश दिएको छ। अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ।
शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि नतिजा प्रकाशनपछि मात्र भर्ना कार्यक्रम सञ्चालन गर्न पूर्वनिर्देशन जारी गरिसकेको छ।




