बङ्गलादेशस्थित नेपाली दूतावासले रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन’ विषयक कार्यक्रम आयोजना गर्दै द्विपक्षीय आर्थिक साझेदारी विस्तारमा जोड दिएको छ। कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, शिक्षा र पर्यटन क्षेत्रमा नेपाल–बङ्गलादेशबीच सहकार्यका व्यापक सम्भावना रहेको उल्लेख गर्दै व्यावसायिक सम्बन्ध विस्तारमार्फत आर्थिक साझेदारी सुदृढ बनाउनुपर्ने बताए।
कार्यक्रममा रङ्गपुरका अतिरिक्त जिल्ला मजिस्ट्रेट क्रिस्टोफर हिमाल रिचिल, रङ्गपुर मेट्रोपोलिटन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका अध्यक्ष गुलाम जकारिया, रङ्गपुर चेम्बरका कार्यवाहक अध्यक्ष मञ्जुर अहमद तथा रङ्गपुर महिला चेम्बरकी अध्यक्ष शाहनाज परविन शाहिनलगायत वक्ताले दुई देशका व्यावसायिक समुदायबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेपाल–बङ्गलादेश आर्थिक साझेदारीलाई थप उचाइमा पुर्याउने उपायबारे पनि विचार आदानप्रदान गरेका थिए।
कार्यक्रममा रङ्गपुरका उद्योग वाणिज्य संघ, व्यावसायिक संस्था, पर्यटन उद्यमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।




