काठमाडौँ :- सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन गर्दै थप व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका छन्।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री तिमल्सिनाले सञ्चार क्षेत्र र सरकार सहकार्य गरेर अघि बढ्ने बताए। उनले साना तथा स्वरोजगारमुखी मिडियाका समस्या समाधानमा सरकार सकारात्मक रहेको पनि उल्लेख गरे।
मन्त्री तिमल्सिनाको भनाइ उद्धृत गर्दै महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगरले भने, “सरकारी विज्ञापनलाई नियमन र व्यवस्थित बनाउँछौं। स्थानीय तहका विज्ञापन सूचना सबैले पाउने व्यवस्था हुनेछ, तर यसलाई पूर्ण रूपमा व्यवस्थित गर्न केही समय लाग्नेछ। सञ्चार जगत् र सरकार मिलेर अघि बढ्नुपर्छ।”
महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री तिमल्सिनालाई भेटी सफल कार्यकालको शुभकामनासहित ६ बुँदे ज्ञापनपत्र समेत बुझाएको थियो।




