काठमाडौँ :- यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएको छ।
विभाग स्रोतका अनुसार बुधबार मन्त्रालयलाई पठाइएको सिफारिसमा यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत भाडा वृद्धि प्रस्ताव गरिएको छ। त्यस्तै, ढुवानी सवारीका लागि पहाडी क्षेत्रमा करिब १४ प्रतिशत र तराई क्षेत्रमा १२ प्रतिशतसम्म भाडा समायोजन गर्ने प्रस्ताव गरिएको छ।
गत चैत २५ गते विभागले अन्तरप्रदेश रुटमा चल्ने सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतसम्म बढाएको थियो। त्यसअघि १३ वटा सूचकलाई आधार मानेर पहाडी क्षेत्रमा मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले वृद्धि गरिएको थियो।
त्यसयता दुई पटक इन्धनको मूल्य वृद्धि भएपछि व्यवसायीहरूले भाडा समायोजनको माग गर्दै आएका थिए। पश्चिम एसियाको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको थियो भने पेट्रोलको मूल्य यथावत् राखिएको थियो।
यसअघि चैत २६ गते पनि डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँले मूल्य वृद्धि भएको थियो। डिजेलमा मात्र प्रतिलिटर ५५ रुपैयाँसम्म वृद्धि भएपछि व्यवसायीहरूले भाडा समायोजनको दबाब बढाउँदै आएका छन्।




