काठमाडौँ :- नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा पार्टीले अपेक्षाविपरीत परिणाम भोग्नुको मुख्य कारण भदौ २३ र २४ का प्रतिगामी घटनाबारे जनतालाई स्पष्ट रूपमा बुझाउन नसक्नु भएको बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले ती घटनाले कम्युनिस्ट आन्दोलन मात्र नभई लोकतन्त्र, संविधान र राष्ट्रिय सम्प्रभुतामाथि गम्भीर चुनौती सिर्जना गरेको बताए।
पोखरेलले एमालेले ती घटनालाई प्रतिगमनको दिशातर्फको कदम ठहर गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएको उल्लेख गरे। साथै, उनले भदौ २३–२४ का घटनाकै निरन्तरताका रूपमा फागुन २१ को निर्वाचन भएको दाबी गर्दै त्यसबारे जनतालाई प्रभावकारी रूपमा जानकारी दिन नसक्दा चुनावी नतिजामा असर परेको बताए। उनका अनुसार, उक्त यथार्थलाई एमालेबाहेक अन्य दलहरूले आत्मसात् गर्न नसकेको पनि उल्लेख गरे।




