काठमाडौँ :- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशनसहित सूचना जारी गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएपछि मंगलबार सार्वजनिक गरिएको सूचनामा सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी तथा जमानी बसेका व्यक्तिहरूलाई लक्षित गरिएको छ।
सूचनामा सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीका ऋणीहरूले पटक–पटक जानकारी गराउँदा पनि हालसम्म साँवा, ब्याज तथा हर्जाना नबुझाएको उल्लेख गरिएको छ। अब यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पर्क गरी आफ्नो हिसाब–किताब मिलाएर रकम बुझाउन आग्रह गरिएको छ।




