काठमाडौँ :- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूलाई सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक तथा स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको छ।
केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै तत्काल अनुगमन गरी आवश्यक कारबाही अघि बढाउन भनेको हो।
परिपत्रमा केही निजी प्रकाशकहरूले कानुन विपरीत बढी मूल्य निर्धारण गर्ने, न्यून गुणस्तरको कागज प्रयोग गर्ने र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने गरेको गुनासो आएको उल्लेख गरिएको छ। यस्ता गतिविधिले अभिभावक र विद्यार्थीमाथि अतिरिक्त आर्थिक बोझ पर्ने भएकाले रोक लगाइएको केन्द्रले जनाएको छ।
साथै, केही विद्यालयहरूले आफैं वा विद्यालयभित्रैबाट पोसाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री–वितरण गर्ने गरेको पाइएकाले यस्ता कार्य तत्काल बन्द गर्न केन्द्रले स्पष्ट निर्देशन दिएको छ।










