काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठकमा छलफल गरिने ९ बुँदे प्रस्ताव पार्टीले आइतबार नै सार्वजनिक गरिसकेको छ।
प्रवक्ता मनिष झा का अनुसार बैठकमा संगठनात्मक, नीतिगत तथा विधानसम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल हुने छ। बैठकको सुरुवात पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङबाट गरिने कार्यसूची तय गरिएको छ।
केन्द्रीय सदस्यहरूको रिपोर्टिङ अन्तर्गत २० जनालाई जनही दुई मिनेट बोल्न समय दिइनेछ। साथै, केन्द्रीय समिति पदाधिकारी मनोनयनको विषय पनि बैठकको प्रमुख एजेन्डामा परेको छ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै कार्यविधि मस्यौदामाथि छलफल गरिनेछ भने पार्टी विधान संशोधनसम्बन्धी विषयमा पनि निर्णय लिने तयारी गरिएको छ।
त्यस्तै, स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ। विदेशमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।




