काठमाडौँ । बैशाख ६ गते, नेपाली कम्युनिष्ट पार्टीले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारलाई उचित विकल्पबिना हटाइएको भन्दै सरकारको कदमप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीले उक्त कार्यलाई अमानवीय भएको ठहर गर्दै तत्काल रोक्न र पीडितहरूको पुनर्वास सुनिश्चित गर्न माग गरेको छ।
विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले सीमान्तकृत समुदायमा असुरक्षा बढाएको उल्लेख गरिएको छ। साथै, नयाँ सरकार गठनपछि बजारमा महँगी र कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न पनि आग्रह गरिएको छ।
पार्टीले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत भएको बताउँदै यस्ता कदमले लोकतान्त्रिक अधिकार कमजोर हुने चेतावनी दिएको छ।





