काठमाडौँ :- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ।
बैठक दिउँसो १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजना हुने तय भएको छ। पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालत को फैसलापछि खड्का समूह आन्तरिक छलफलमा जुटेको हो। बैठकमा १५औँ महाधिवेशनको तयारी गर्ने वा वैकल्पिक बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने तयारी रहेको बुझिएको छ।
विशेष महाधिवेशनलाई अदालतले मान्यता दिएपछि असन्तुष्ट बनेको पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग सम्बन्धित नेताहरूको सहभागिता पनि देखिएको छ। यसअघि शनिबार खड्काले आफ्नै निवासमा आफू निकट नेताहरूसँग प्रारम्भिक छलफल गरेका थिए।
उक्त छलफलमा विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा र रमेश लेखक लगायतको सहभागिता रहेको थियो।




