काठमाडौँ :- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा परम्परागत राजनीतिक शक्तिहरू कमजोर बन्दै नयाँ पुस्ताको उदय भइरहेको दाबी गरेका छन्। उनले अब मुलुकलाई एक्काइसौँ शताब्दीअनुसार ‘वैज्ञानिक मानववाद’ र ‘समुन्नत समाजवाद’को मार्गमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
भारतस्थित आईटीएम विश्वविद्यालयले आयोजना गरेको ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’मा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले प्रविधि र मानवीय मूल्यमान्यताको संयोजनमार्फत नयाँ विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिए।
राममनोहर लोहियाको विचारअनुसार न्याय र समानताको पुनर्कल्पना आवश्यक रहेको उल्लेख गर्दै भट्टराईले नेपालको पछिल्लो राजनीतिक परिवर्तनदेखि विश्वव्यापी आर्थिक तथा जातीय असमानतासम्मका विषयमा आफ्ना धारणा राखे।
यस क्रममा उनले नेपालमा हालै ‘जेनजी’ पुस्ताले गरेको सशक्त प्रदर्शनले दुई ठूला दलको गठबन्धन सरकार ढालेको प्रसंग उल्लेख गर्दै युवाहरूको हस्तक्षेपलाई ऐतिहासिक मोडको संज्ञा दिए। लोहियाको प्रसिद्ध भनाइ ‘जिउँदा जातिहरू चुनावका लागि पाँच वर्ष पर्खिंदैनन्’ उद्धृत गर्दै उनले युवाहरूले भ्रष्टाचार, कुशासन र आर्थिक असमानताविरुद्ध चुनाव नपर्खी सक्रिय हस्तक्षेप गरेको बताए।
यस्तै, बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन हुनु तथा रुबी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित हुनु नेपालका लागि नयाँ राजनीतिक कोसेढुंगा भएको उनले दाबी गरे।




