काठमाडौँ :- पूर्वराजा ज्ञानेन्द्र शाहले देश सधैँ विकल्पको खोजी र प्रयोगमा अल्झिँदा प्रयोगशाला जस्तो बनेको टिप्पणी गरेका छन्।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जारी भिडियो सन्देशमा उनले राजनीति र राज्य सञ्चालनमा युवापिँढीको बढ्दो सहभागितालाई सकारात्मक बताए पनि मुलुक निरन्तर प्रयोग र अभ्यासमै सीमित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
शाहले विगततर्फ संकेत गर्दै देश स्थिरता, निरन्तरता र दृढताबाट टाढिँदै गएको उल्लेख गरेका छन्। विधि, पद्धति र व्यक्ति परिवर्तनले मात्र समग्र अवस्था सुधारिँदैन भन्ने पाठ विगतले सिकाएको उनको भनाइ छ।
साथै, उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा दक्ष युवाको आगमनले राष्ट्रलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। राजनीतिक प्रणालीमा धेरै परिवर्तन भए पनि व्यवहारमा उल्लेखनीय सुधार नआएको उनको धारणा छ।




