काठमाडौँ :- नेपाल सरकारले आगामी वैशाख २ गते (१५ अप्रिल २०२६) काठमाडौँको टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ विशेष समारोहका साथ मनाउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा सभामुख डोल प्रसाद अर्यालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शाही सैनिक मञ्च टुँडिखेल मा आयोजना हुने समारोहमा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू समावेश गरिनेछन् । यस अवसरमा ‘वेलनेस टुरिज्म स्ट्र्याटेजी’ सम्बन्धी विशेष भिडियो र लोगो सार्वजनिक गरिनेछ भने सन् २०२७ लाई औपचारिक रूपमा Nepal Wellness Year 2027 घोषणा गर्ने तयारी पनि गरिएको छ ।
कार्यक्रम बिहान ७:३० बजे मन्त्रोच्चारणसँगै सुरु हुने र त्यसपछि योग तथा ध्यान सत्र सञ्चालन हुने तालिका रहेको छ । कार्यक्रमको समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गणेश) ले गर्नेछन् ।
आयोजकले सहभागीहरूलाई प्लास्टिकका बोतल प्रयोग नगरी आफ्नै नन–प्लास्टिक बोतल ल्याउन तथा योग म्याटसहित सहज पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ । यो कार्यक्रमले नेपाललाई विश्वव्यापी रूपमा ‘वेलनेस टुरिज्म’ को केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




