काठमाडौँ :- अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ। एसियाली बजार खुल्नेबित्तिकै इन्धनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हलचल देखिएको छ। अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३७ डलर पुगेको छ भने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) ९ प्रतिशतले वृद्धि भई १०५.३४ डलर पुगेको छ।
गत साता वासिङ्टन र तेहरानबीच दुई साताका लागि ससर्त युद्धविराम र ‘स्ट्रेट अफ हर्मोज’ व्यापारिक मार्ग खोल्ने सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा तल झरेको थियो। तर, वार्ता विफल भएसँगै विश्वव्यापी ऊर्जा सङ्कट थप गहिरिने चिन्ता बढेको छ।
विश्व ऊर्जा ढुवानीको करिब पाँचौँ हिस्सा ओगट्ने ‘स्ट्रेट अफ हर्मोज’ अहिले द्वन्द्वको केन्द्र बनेको छ। फेब्रुअरी २८ देखि जारी तनावका कारण यहाँबाट हुने ढुवानी प्रभावित भएको छ। भारत र मलेसियाजस्ता केही देशले आफ्ना जहाजका लागि सुरक्षित मार्गको पहल गरे पनि विश्वव्यापी रूपमा इन्धन आपूर्ति दबाबमा परेको छ।




