काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बोलाइएको उक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा शुक्रबार अपरान्ह सम्बोधन गरिएको हो।
सम्बोधनका क्रममा राष्ट्रपतिले संविधानको मर्म र जनताको अपेक्षाअनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले विशेषगरी रोजगारी सृजना, युवामा बढ्दो निराशा अन्त्य, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणमा सरकार केन्द्रित हुने उल्लेख गर्नुभयो।
त्यस्तै, युवालाई देशमै अवसर सिर्जना गरी विदेश पलायन रोक्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षामा सुधार आवश्यक रहेको पनि उहाँको भनाइ थियो।
राष्ट्रपतिले सुशासन, सामाजिक न्याय र आर्थिक विकासमार्फत जनताको अपेक्षा पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।




