काठमाडौँ :- बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका छन्।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
भेटका क्रममा राजदूत तथा नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। उनीहरूले नेपाल सरकारका गतिविधिमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित तथा व्यावहारिक परराष्ट्र नीतिलाई पुनः दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्।




