काठमाडौँ :- नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
निक्षेप संकलनका लागि बोलकबोल तथा निष्कासन आइतबार गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत सहभागिता जनाउनुपर्नेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नियमित रूपमा यस्तो उपकरण प्रयोग गर्दै आएको छ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ १७ गते गरिने बताइएको छ।
बोलकबोलमा सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँका गुणकमा, निष्कासित रकमबराबर हुने गरी प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।




