काठमाडौ :- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक इजलासलाई थप सुदृढ र पारदर्शी बनाउन नयाँ पोर्टल सार्वजनिक गरेकी छन्।
आज सार्वजनिक कार्यक्रममा उनले संविधानको रक्षा र न्यायको पारदर्शिताका लागि प्रविधिको उपयोग महत्वपूर्ण रहेको बताइन्। सर्वोच्च अदालतले संवैधानिक इजलासका लागि छुट्टै पोर्टल सञ्चालनमा ल्याएको र न्यायपालिकामा रहेका पुराना मुद्दाहरूको फर्छ्योट प्राथमिकतामा राखिएको जानकारी दिइन्।
उनका अनुसार, संवैधानिक इजलासमा हाल २८२ मुद्दा विचाराधीन छन्, जसमा ०७४ सालदेखिका आठ वर्ष पुराना मुद्दा पनि समावेश छन्। अदालतले संवैधानिक इजलासका मुद्दा फर्छ्योट गर्न निश्चित लक्ष्य निर्धारण गरेको छ।
निर्वाचनसम्बन्धी विवादलाई दर्ता भएको मितिले ६ महिनाभित्र निरुपण गर्ने अर्को लक्ष्य पनि अदालतले तोकेको छ। यसले विगतमा निर्वाचनको औचित्य सकिँदासम्म मुद्दा किनारा नलाग्ने अवस्थालाई अन्त्य गर्ने योजना रहेको प्रधान न्यायाधीशले स्पष्ट पारेकी छन्।




