काठमाडौँ :- डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध जारी राख्दै थप कडा आक्रमण गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ।
बुधबार प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको ब्रेन्ट क्रुड ट्रम्पको सम्बोधनपछि झन्डै ५ प्रतिशतले बढेर १०६.२९ डलर पुगेको छ। त्यस्तै, अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमिडिएट पनि ४ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै १०४.२९ डलरमा पुगेको छ।
इरानले हर्मुज जलमार्ग बन्द गर्न सक्ने र अमेरिकाले इरानका ऊर्जा पूर्वाधारमा आक्रमण गर्न सक्ने आशंकाले आपूर्तिमा अवरोध आउने डर बढेको छ। यसले लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गर्दै तेलको मूल्य उकालो लागेको हो।
ट्रम्पले इरानलाई “ढुङ्गाको युगमा पु¥याउने” चेतावनी दिएपछि संकट समाधान हुने अपेक्षा राखेका लगानीकर्ताहरू निराश भएका छन्। यसको असर विश्व शेयर बजारमा समेत देखिएको छ।
बिहीबार बिहान एसिया–प्रशान्त क्षेत्रका शेयरहरूको एमएससीआई फराकिलो सूचकांक कारोबार सुरु हुनेबित्तिकै करिब ०.७५ प्रतिशतले घटेको छ। ट्रम्पको अभिव्यक्तिले बजारमा रहेको सकारात्मक माहोल एकाएक समाप्त भएको देखिएको छ।




