काठमाडौँ :- उपराष्ट्रपति रामसहाय यादव र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत मनिकरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा पुगेर भेट गरेका हुन्।
भेटका क्रममा उपराष्ट्रपति यादवले राजदूतलाई नेपालमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले सन् १९७७ मा स्थापना भएको नेपाल–साउदी कूटनीतिक सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहेको उल्लेख गरे।
उनले नेपाली कामदारका लागि साउदी अरेबिया प्रमुख गन्तव्य भएको उल्लेख गर्दै उनीहरूको हकहित संरक्षणमा सहयोगको अपेक्षा व्यक्त गरे। जवाफमा राजदूत मनिकरले नेपालको विकासमा विशेषगरी आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।




