जुम्ला :- जुम्लामा आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ। आर्थिक गणना कार्यालयका अनुसार यसका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन्।
कार्यालय प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लाभर दर्ता भएका कृषि, वन, माछापालनसँग सम्बन्धित उद्योग तथा विभिन्न व्यापारिक र सेवा प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ।
आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जुम्लामा एक हजार ५६९ व्यापारिक प्रतिष्ठान, एक हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग सञ्चालनमा छन्। आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता रहेका छन् भने गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन्।
त्यसैगरी कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेका छन्। यसपटकको आर्थिक गणनाले जिल्लाको वास्तविक तथा अद्यावधिक आर्थिक अवस्था प्रतिबिम्बित गर्ने कार्यालयले जनाएको छ।




