काठमाडौँ :- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। यसअघि केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।
नेपालको संविधानको धारा ९९ र धारा ९१ को उपधारा (५) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सांसदहरूले शपथ लिनुपर्ने व्यवस्था रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित सबैभन्दा धेरै स्थान हासिल गरेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेका छन्।




