काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले व्यक्त गरेको अभिमतले जनप्रतिनिधिहरूको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन्।
आज निर्वाचन आयोग नेपालद्वारा आयोग परिसर, बहादुर भवनमा आयोजित जलपान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबै नेपालीले एकजुट भएर काम गर्नुपर्ने बताएका छन्।
उनले भने, “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ। लोकतन्त्रमा मत फरक हुन सक्छ, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत हुनेछ भन्ने मैले विश्वास लिएको छु।”
राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले लक्ष्य गरेको जनताको जीवनस्तर उकासेर मुलुकलाई समृद्ध बनाउने काममा सबैमा एकजुट भएर लाग्न हार्दिक आह्वान पनि गरेका छन्।




