काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तोकिएको छ।
न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राख्दै अर्को मिति तय गरिएको हो। रिट निवेदक पक्षको बहस सकिएको छ भने आगामी सुनुवाइमा सरकारी वकिल र रवि पक्षका कानुन व्यवसायीहरूले प्रतिवाद गर्नेछन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अर्को सुनुवाइ चैत १२ गते बिहीबारका लागि निर्धारण गरिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेपछि यो प्रकरण विवादमा परेको हो। उनले गत २ माघमा लामिछानेसहित अन्य आरोपितहरूको हकमा पनि आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्। यसअघि पुस ३० गते उनले लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्र चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।




