चितवन :- जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरेबापत करिब ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन्। उनीहरू विगत ६ महिनादेखि रकम नपाउँदा आर्थिक समस्यामा परेका छन्।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखि दूधको भुक्तानी रोकिँदा किसान मारमा परेका हुन्। बजारमा समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगहरूले समयमै रकम नदिँदा समस्या बढेको उनले बताए।
उनका अनुसार संस्थानले ६ महिनादेखि र अन्य ठूला उद्योगहरूले करिब ३ महिनादेखिको भुक्तानी बाँकी राखेका छन्। साना उद्योगहरूले भने नियमित रूपमा भुक्तानी गर्दै आएका छन्।
जिल्लामा दैनिक करिब ३ लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ, जसको ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा बिक्री गरिन्छ। यहाँका ११५ दुग्ध उत्पादक सहकारीहरूले दूध सङ्कलन गरी ठूला उद्योगलाई आपूर्ति गर्दै आएका छन्। तर समयमै भुक्तानी नपाउँदा सहकारीहरूलाई किसानलाई रकम दिन कठिन भएको छ।
जिल्लामा करिब ४० हजार किसान दूध उत्पादनमा संलग्न छन्।




