काठमाडौँ :- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ केही क्षेत्रको मतगणना अझै सुरु हुन बाँकी रहेको छ।
निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम–२, बाजुरा, गोरखा–१ र २ तथा धनुषा–१ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्य धेरै निर्वाचन क्षेत्रको समानुपातिक मतगणना भने सम्पन्न भइसकेको छ। आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना सक्ने लक्ष्य राखेको जनाएको छ।
मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा समानुपातिकतर्फ निर्वाचित हुने सांसदको संख्या निर्धारण गरिने आयोगले जनाएको छ। त्यसपछि दलहरूलाई बन्दसूचीभित्रबाट नाम सिफारिस गर्न पत्राचार गरिनेछ।




