काठमाडौँ :- राष्ट्रपति पौडेलले ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा शुभकामना व्यक्त गर्दै परम्परागत खराब अभ्यासका कारण किशोरी र बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनालाई निर्मूल पार्न थप प्रभावकारी र सिर्जनात्मक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो।
सन्देशमा भनिएको छ, “जनसंख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्छ।” उहाँले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त र राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले शुभकामना सन्देशमा भनेका छन्, “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार, समानता, सशक्तीकरण र सम्मानप्रति संवेदनशील भई कार्य गर्न थप ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस्।”
महिला अधिकार र लैङ्गिक समानताको प्रवर्द्धनका लागि हरेक वर्ष ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइँदै आएको छ। यस वर्ष संयुक्त राष्ट्रसङ्घको ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। विश्वभरका महिलाहरूको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै, प्रविधिमा पहुँच विस्तार, सशक्तीकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य गतिविधि निर्मूल पार्ने, महिला शिक्षित र आत्मनिर्भर बनाउने तथा उचित सम्मान सुनिश्चित गर्ने उद्देश्यसहित दिवस मनाइन्छ।




