काठमाडौँ :- प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०० क्षेत्रमा विजयी भएको छ। रास्वपाका उम्मेदवारहरूले २५ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेका छन्।
निर्वाचन आयोगका अनुसार १२७ क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ। यसअनुसार नेपाली कांग्रेसले १४ क्षेत्रमा जित हासिल गरेको छ भने ३ क्षेत्रमा अग्रता लिइरहेको छ। नेकपा (एमाले)ले ७ क्षेत्रमा जित हासिल गर्दा ३ क्षेत्रमा अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका ४ उम्मेदवार विजयी भएका छन् भने ३ क्षेत्रमा अग्रता लिइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारले प्रत्येक एक–एक स्थानमा विजयी भएका छन्। यस्तै, श्रम संस्कृति पार्टीका ३ उम्मेदवार अग्रस्थानमा छन्।
समानुपातिकतर्फ फागुन २१ गते सम्पन्न निर्वाचनमा हालसम्म २३ लाख ५६ हजार २१० मतगणना भइसकेको छ। आयोगका अनुसार रास्वपाले ११ लाख ९५ हजार ५९०, नेपाली कांग्रेसले ४ लाख ६४०, नेकपा (एमाले)ले ३ लाख २० हजार ६८५ र नेपाली कम्युनिष्ट पार्टीले १ लाख ५२ हजार ९५३ मत प्राप्त गरेका छन्।




