काठमाडौँ :- पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी हुनुभएको छ । निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याउनुभएको छ ।
यसैगरी जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले २ हजार ६४२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिना जैसवालले १ हजार ९९९ मत ल्याउनुभएको छ ।
यस निर्वाचन क्षेत्रमा कुल ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । तीमध्ये १४ जना स्वतन्त्र र १७ जना विभिन्न दलका उम्मेदवार थिए ।
पर्सा–२ मा कुल ९५ हजार १२० मतदाता रहेकोमा प्रत्यक्षतर्फ ६५ हजार ८७८ मत खसेको थियो । तीमध्ये ४ हजार ५६८ मत बदर भएको छ भने ६१ हजार ३१० मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।




