काठमाडौँ :- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाललाई आचारसंहिता उल्लंघन गरेको भन्दै प्रत्येकलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
त्यसैगरी, श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्न आदेश दिइएको छ। समितिका संयोजक तथा निर्वाचन आयुक्त सगुन शमशेर जबराले आयोगले दुई उम्मेदवार र एक दललाई कारबाही गरेको जानकारी दिएका छन्।
आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि जरिवाना गर्ने निर्णय लिएको बताइएको छ।




