काठमाडौँ :- निर्वाचन आयोग ले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरेको जनाएको छ।
आयोगका अनुसार मतदानको दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका सवारी, सुरक्षा निकायका सवारीसाधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने साधन, कूटनीतिक नियोगका सवारी र पास प्राप्त सवारीसाधनबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारी फागुन २० गते राति १२ः०० बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न नपाइनेछ।
त्यस्तै, मतदानको मितिभन्दा सात दिनअघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरिएको आयोगले जनाएको छ।




