काठमाडौँ :- गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। गृह मन्त्रालयमा आज सम्पन्न भेटमा पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा निर्वाचन तथा अमेरिकाले नेपाललाई प्रदान गर्दै आएको सहयोग र सहायताका विषयमा छलफल भएको हो।
भेटका क्रममा गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार तीव्र रुपमा तयारीमा जुटिरहेको जानकारी दिनुभयो। उहाँले निर्वाचनको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको पनि उल्लेख गर्नुभयो।
त्यसैगरी अमेरिकी कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध सधैँ निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा दुई देशबीचको सहकार्य अझ मजबुत र प्रगाढ हुँदै जाने धारणा व्यक्त गर्नुभयो।



