काठमाडौँ :- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र विद्यमान बेथिति, विसङ्गति तथा भ्रष्टाचारलाई आपसी सहकार्य र समन्वयमार्फत क्रमशः अन्त्य गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
नेपाल खुल्ला विश्वविद्यालयद्वारा आयोजित पहिलो दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति कार्कीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले शिक्षाले विद्यमान समस्या समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
“हाम्रो मुलुक अरूले आएर बनाइदिने होइन, हामी आफैँले बनाउने हो। बेथितिबाट भाग्ने होइन, त्यसलाई हटाउँदै अघि बढ्नुपर्छ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो। उहाँले दीक्षित विद्यार्थीलाई राष्ट्र निर्माणको अभियानमा सक्रिय सहकार्य गर्न आग्रह गर्दै विश्वविद्यालयले प्रतिभा पलायन रोक्ने, युवाको बदलिँदो अवस्थालाई सम्बोधन गर्ने र स्वदेशमै योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो।
समारोहमा प्रमुख अतिथि शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले खुल्ला विश्वविद्यालयका विद्यार्थीले जीवनपर्यन्त सिकाइमा संलग्न रहनुका साथै कठिन परिस्थितिमा पनि अध्ययनलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो।
कार्यक्रममा विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र तथा शिक्षा, र व्यवस्थापन तथा कानुन सङ्कायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो। खुल्ला विश्वविद्यालयका उपकुलपति डा. शिलु मानन्धर बज्रचार्यले व्यस्त जीवनशैली भएका व्यक्तिलाई दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्च शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो।



