दमौली :- तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार कोलडाँडा–थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ जाँदै गरेको ग३च ५८३८ नम्बरको जीप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।
दुर्घटनामा म्याग्दे–४ कोलडाँडाकी १३ वर्षीया कोइस्का घर्ती गम्भीर घाइते भएकी थिइन्। उनलाई बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौली पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, सोही स्थानका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



