काठमाडौँ :- निर्वाचन आयोगमा विभिन्न दलका तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ। उजुरी परेका उम्मेदवारहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सम्बन्धित छन्।
नेकपा एमालेको समानुपातिक सूचीमा रहेका सिरहाका चन्देश्वर मण्डलविरुद्ध उजुरी परेको हो। मण्डल आदिवासी समुदायको व्यक्ति भएकोले उनलाई मधेशी क्लस्टरमा समावेश गर्न नमिल्ने दाबी उजुरीमा गरिएको छ।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उनलाई अपाङ्गता भएका व्यक्ति अन्तर्गत सूचीबद्ध गरिएको भए पनि उनी अपाङ्गता नभएको व्यक्ति रहेको दाबी उजुरीमा उल्लेख छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार बनेका कुमार बहादुर थापाविरुद्ध पनि उजुरी परेको छ। उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रूपमा खरिद–बिक्री गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर मुद्दा विचाराधीन रहेको उल्लेख उजुरीमा गरिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।



