काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म डेढ करोड मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार अब करिब ५० लाख मतपत्र छपाइ गर्न बाँकी रहेको छ।
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ कार्य भइरहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएपछि पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सुरु गरिने जानकारी दिनुभयो।
यसैबीच, मनोनयनपत्र दर्ता प्रयोजनका लागि मतदाता नामावलीको एक प्रति छपाइ गरी सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। अन्य तीन प्रति मतदाता नामावली भने हाल आयोग परिसरमै छपाइ भइरहेको पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।



