काठमाडौँ :- राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन वटा अध्यादेश पेस गर्नुभएको छ। बैठकमा उहाँले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ तथा ‘नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२’ सभासमक्ष प्रस्तुत गर्नुभएको हो।
त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ राष्ट्रियसभामा पेस गर्नुभयो। साथै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनुभएको थियो। बैठकले पूर्वमन्त्रीहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल तथा पूर्वसांसद कृष्णकुमारी श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
राष्ट्रियसभाको अर्को बैठक यही माघ १३ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ।



