काठमाडौँ :- सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको कार्यकाल दोस्रो पटक थप गर्ने निर्णय गरेको हो। गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आयोगको म्याद २० दिनका लागि विस्तार गरिएको जानकारी दिनुभयो।
यसअघि पनि आयोगको म्याद एक महिनाका लागि थप गरिएको थियो। आजको बैठकले पुनः दोस्रो पटक २० दिन म्याद थप्ने निर्णय गरेको हो।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको संयोजकत्वमा आयोग गठन गरेको थियो। आयोगका सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहनुभएको छ।
प्रारम्भिक विवरणअनुसार जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको छ भने सरकारी तथा निजी सम्पत्तिमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएको छ।



