रुकुम पूर्व :- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको चाहना पूरा गर्न आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको बताएका छन्।
प्रेस सेन्टर नेपाल रुकुम पूर्वद्वारा आज रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जिल्लाको इतिहास, भूगोल, संस्कृति तथा विविध जातजातिको भावना समेटिने विकास मोडल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
संयोजक दाहालले जनयुद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वको विकासलाई नयाँ गति दिने संकल्प व्यक्त गर्दै जनताको अपेक्षा र चाहनाअनुसार उम्मेदवारी दर्ता गराएको बताए। उनले भौतिक पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्य सेवाको सुधार, कृषि प्रवर्द्धन, रोजगारी सिर्जना तथा पर्यटन विकासलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि सारे।
राजनीतिक परिवर्तनसँगै विकासका दृष्टिकोणबाट पनि समाजवादको बीउ रुकुम पूर्वबाट रोपिने दाबी गर्दै उनले समाजवादी क्रान्तिको आधारइलाका रुकुम पूर्व बन्ने विश्वास व्यक्त गरे। आजै संयोजक दाहालले सहिद परिवारसँग भेटघाट गर्नुका साथै स्थानीय जनसमुदायसँग अन्तर्क्रिया गरेका थिए।



