काठमाडौँ :- सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसार र चुनावी अभियानलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्देशन दिएको छ। यसका लागि जिल्ला सुरक्षा समितिलाई थप सक्रिय र भरपर्दो भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज काठमाडौंमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रमसँग सम्बन्धित समन्वयका लागि गठन गरिएका सबै सुरक्षा संयन्त्रलाई पूर्ण रूपमा सक्रिय बनाउने निर्णय गरेको हो।
बैठकले निर्वाचन प्रचारप्रसारका क्रममा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी प्रणालीलाई प्रभावकारी बनाउने तथा गैरकानुनी गतिविधि भेटिएमा कडाइका साथ कारबाही गर्ने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
यस अवसरमा चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि गरेका तयारीको समीक्षा गरिएको थियो। केन्द्रीय सुरक्षा समितिबाट पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाइने सरकारको भनाइ छ।



