काठमाडौँ :- कास्कीमा प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता सम्पन्न भएसँगै उम्मेदवार तथा राजनीतिक दलहरू चुनावी गतिविधिमा सक्रिय भएका छन्। उम्मेदवारहरू कार्यकर्ता तथा मतदातासँग भेटघाटमा निस्किन थालेका छन्।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवार र छ जना स्वतन्त्रसहित कुल ४९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यससँगै कास्कीमा चुनावी माहोल थप तातिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडास्तरबाट चुनाव लक्षित भेटघाट तथा छलफल सुरु गरेको छ। एमालेले कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नं २ मा रश्मी आचार्य र क्षेत्र नं ३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई तीव्र बनाएको छ। कांग्रेसले क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधवप्रसाद बाँस्तोला र क्षेत्र नं ३ मा मनोज गुरुङलाई उम्मेदवार बनाएको छ।
नेपाली कम्युनिष्ट पार्टीले चुनावको तयारीस्वरुप आज उम्मेदवार तथा जिल्लामा रहेका केन्द्रीय सदस्यसँग छलफल गर्ने जनाएको छ। पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी र उम्मेदवारले घरदैलो अभियान सुरु गर्नेछन्। नेकपाले क्षेत्र नं १ मा राजकाजी गुरुङ, क्षेत्र नं २ मा हेमबहादुर थापा पराजुली र क्षेत्र नं ३ मा गोपाल गिरीलाई उम्मेदवार बनाएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज कास्कीमा बैठक हुँदैछ। रास्वपाले क्षेत्र नं १ मा खड्गराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङलाई उम्मेदवारका रूपमा अघि सारेको छ।



