काठमाडौँ :- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका साथ अगाडि बढ्न सबै नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ। कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको अवस्थामा उहाँले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्नुभएको हो।
विज्ञप्तिमा खड्काले मुलुकको विषम् राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पार्टीभित्र उत्पन्न असहज अवस्थाको अन्त्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ। प्रतिनिधिसभा विघटनसँगै देशमा अन्योल र अनिश्चितता बढेको भन्दै लोकतन्त्र र संविधानप्रति सर्वत्र चासो तथा चिन्ता रहेको उहाँको भनाइ छ। साथै आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको तथ्य पनि उहाँले स्मरण गराउनुभएको छ।
उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने बताउँदै यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो। पार्टीभित्र देखिएको असहज र अन्योलको स्थितिलाई अन्त्य गर्न आपसी समन्वय र एकता आवश्यक रहेको उहाँको जोड छ।
कार्यवाहक सभापति खड्काले कांग्रेसले अघिल्ला विभिन्न विषम् कालखण्डमा सही मूल्याङ्कन गर्दै आफ्नो नेतृत्वमा मुलुकलाई उचित निकास दिएको इतिहास रहेको पनि स्मरण गराउनुभयो। राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित कांग्रेसमाथि पुनः ऐतिहासिक जिम्मेवारी आएको भन्दै उहाँले प्रतिनिधिसभा निर्वाचनलाई अभियानका रूपमा लिएर सम्पूर्ण पार्टीपङ्क्ति एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।



