काठमाडौँ :- नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ। दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच गहन छलफल भइरहेको छ। छलफल अझै टुंगिन समय लाग्ने भएकाले विशेष महाधिवेशन भोलिसम्म सञ्चालन हुने विशेष अधिवेशन आयोजक समितिको भनाइ छ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल अघि बढाए पनि संस्थापन पक्षसँगको संवाद र वार्ता अझै जारी रहेको छ। पार्टीभित्र सम्भावित विभाजन रोक्ने उद्देश्यले काँग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट केन्द्रीय सदस्य तथा नेताहरूसँग छलफल गरिरहेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो।




