काठमाडौँ :- द ब्रिटिश कलेजसँग आन्दोलनको नाममा रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन्। कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग्दै नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोपमा ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
कलेजको उजुरीका आधारमा काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँको जोरपाटीमा बस्दै आएका २८ वर्षीय ढकाल पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो।
प्रहरीका अनुसार ढकालमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ अनुसार आपराधिक लाभ (एक्स्टोर्सन) सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। कलेज प्रशासनको दाबीअनुसार ढकालले २०८२ साल पुस १६ र १७ गते नक्सालस्थित एक होटलमा कलेज व्यवस्थापकसँग भेटघाट गर्दै डर, त्रास र दबाब सिर्जना गरी रकम नदिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
कलेजले ढकालले सामाजिक सञ्जाल र केही अनलाइन समाचार पोर्टलमार्फत कलेजको प्रतिष्ठा, विश्वसनीयता र छविमा नकारात्मक प्रभाव पार्ने सामग्रीहरू प्रचार गरेको आरोप पनि लगाएको छ। त्यस्तै, पुस ८ गते ब्रिटिश कलेज रहेको ट्रेड टावर परिसरमा भएको नारा–जुलुस, तोडफोड तथा सवारी साधनमा क्षति पु¥याउने गतिविधिमा समेत ढकाल संलग्न रहेको दाबी गरिएको छ।
ढकाल किल युनिभर्सिटीको सम्बन्धनमा सञ्चालन भइरहेको ब्रिटिश इन्टरनेशनल कलेजका पूर्व विद्यार्थी हुन्। पीडित पक्षले दिएको जाहेरीसँगै धम्कीपूर्ण ह्वाट्सएप सन्देश, अडियो रेकर्डिङ, समाचार सामग्रीका लिङ्क तथा अन्य कागजातहरू प्रमाणका रूपमा प्रहरीसमक्ष पेश गरिएको र सोही आधारमा ढकाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



