काठमाडौँ :- नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित एक पार्टी प्यालेसमा जारी छ। बैठकको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक जीवन, लोकतन्त्रको अवस्था र आगामी निर्वाचनका विषयमा विस्तृत सम्बोधन गरेका छन्।
अध्यक्ष ओलीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउँदै शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरण अझै सुनिश्चित नभएको उल्लेख गरे। उनले लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि चुनौती बढ्दै गएको भन्दै त्यसविरुद्ध नेकपा (एमाले) अग्रपङ्क्तिमा उभिएर लड्ने प्रतिबद्धता दोहोर्याए।
सम्बोधनका क्रममा ओलीले एघारौँ महाधिवेशनले पार्टीको आन्तरिक एकता सुदृढ गरेको, नेतृत्वको वैधता पुनः स्थापित गरेको र जनाधार बलियो रहेको सन्देश दिएको बताए। उनले भदौ २३–२४ का घटनालाई लोकतन्त्र र संविधानमाथिको योजनाबद्ध आक्रमणको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध पार्टीले दृढ संघर्ष गरेको उल्लेख गरे।
बैठकमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै ओलीले पुनर्स्थापना, सर्वपक्षीय संवाद र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक संकटको समाधानको सुरक्षित बाटो भएको धारणा राखे। साथै उम्मेदवार छनोट प्रक्रियामा देखिएका गुनासो समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर निर्वाचनमा होमिन निर्देशन दिए।
बैठकमा हाल अन्तरपार्टी निर्देशन सबै केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको छ भने महासचिव शंकर पोखरेलले त्यसबारे ब्रिफिङ गरिरहेका छन्। बैठकले निर्वाचन तयारी, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक रणनीतिका विषयमा थप निर्णय लिने बताइएको छ।



