गृह मन्त्रालय तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनको तयारी सुरु गरिसकेको बताउनुभयो । तोकिएकै मितिमा निर्वाचन हुने भएकाले यसबारे कुनै शङ्का नगर्न उहाँले सरोकारवाला सबै पक्षलाई आग्रह गर्नुभयो ।
जेनजी आन्दोलन सुशासन कायम गर्ने उद्देश्यले भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले सुशासन स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । तोकिएको मितिमा निर्वाचन सम्पन्न हुन नसके देशले गम्भीर सङ्कटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको चेतावनी थियो ।
गृहमन्त्री अर्यालले सुरक्षा निकायको मनोबल उच्च राख्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरिने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वच्छ, निष्पक्ष तथा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।




