काठमाडौँ :- जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा आज भएको जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको डबल क्याब बोलेरो जीप भित्री सडक खण्डमा ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेमा छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, छेडागाड–८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नम्बर ९ का ३९ वर्षीय बीरबहादुर रोकाय तथा दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया शीतला रावत रहेका छन् ।
घाइते सबैको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




