काठमाडौँ :- काठमाडौँको शङ्करापुर नगरपालिका–३ स्थित साँखु–जहरसिंहपौवा सडक खण्डको जङ्गल क्षेत्रमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दुर्घटनामा परी २३ जना घाइते भएका छन्।
मृतक सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा नेपालगञ्ज घर भई हाल बुढानिलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई हाल बुढानिलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, पाँचथर घर भई हाल गोठाटार बस्ने अन्दाजी ६५ वर्षीय देबेन्द्र लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा काठमाडौँ जोरपाटीका ५५–६० वर्षीय अर्जुन लामिछाने रहेका छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार ‘नेचर हर्व’ संस्थाका कर्मचारीहरू वनभोज खाएर फर्किँदै गर्दा साँझ करिब ६ बजेतिर बस दुर्घटनामा परेको हो। बसमा करिब ४० जना सवार थिए।
दुर्घटनामा घाइते भएका व्यक्तिहरूको नेपाल मेडिकल कलेज, शङ्करापुर अस्पताल, मूलपानी नगर अस्पताल तथा सुष्मा कोइराला अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




