काभ्रे :- काभ्रेको खानीखोला गाउपालिका ३ जुरेमा बुधबार दोस्रो पटक नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । रेयुकाई ईको मासुनाग आँखा अस्पताल बनेपाबाट खटिएका स्वास्थ्यकर्मीहरूको टोलीले शिविर सञ्चालन गर्दै स्थानीय नागरिकहरूलाई आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरेका हुन ।
शिविरमा ७२ जना सेवाग्राहीले आँखा जाँच सेवा लिएका थिए। परीक्षणका क्रममा २ जनामा मोतीबिन्दु (क्याटार्याक्ट) देखिएको वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाले जानकारी दिए। उहाँका अनुसार गत वर्ष यही वडाबाट २६ जनाको मोतीबिन्दु शल्यक्रिया रेयुकाई ईको मासुनाग आँखा अस्पतालमा सफलतापूर्वक सम्पन्न गरिएको थियो।
नि:शुल्क आँखा शिविरमा खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा तथा वडा नम्बर ३ का अध्यक्ष सागर जिम्बाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममार्फत ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।
शिविरबाट लाभान्वित वडा नम्बर ३ का स्थानीय बासिन्दाहरूले नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोमा सन्तोष व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। स्थानीय तहको समन्वय तथा पहलमा सम्पन्न यस प्रकारका स्वास्थ्य शिविरहरू ग्रामीण समुदायको स्वास्थ्य सुधारमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।



